झापामा सांसद एल.पि. साँवाले १० विद्यार्थीको कक्षा १० सम्मको खर्च ब्यहोर्ने

Hamrodamak 2023 Jan 21

झापामा सांसद एल.पि. साँवाले १० विद्यार्थीको कक्षा १० सम्मको खर्च ब्यहोर्ने

दमक | विद्यार्थी भर्ना अभियान अन्तर्गत झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) एल.पि. साँवा लिम्बुले सो क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १० बालबालिकालाई कक्षा १० सम्म पढ्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै विद्यालयमा भर्ना गरिदिएका छन् । कम्जोर आर्थिक स्थिति भएका अभिभावकका १० बालबालिकाको विद्यालय पोशाक, शैक्षिक सामग्री तथा खाजा खर्च समेतको जिम्मा लिदैं सांसद साँवाले उनीहरुलाई विद्यालयमा भर्ना गरिदिएका हुन् ।

 

सांसद साँवाले डिल्लीराज मावि झापामा सुस्मिता कुमारी माझी , गौरव माझी ,तापश उराउ र प्रदीप माझीको जिम्मेवारी लिएका हुन भने त्रिभुवन आधारभुत बिद्यालय, झापामा अमन कुमार कोच, अनुपम कुमार मुखिया , पृनक्ष्या कहाँर , धिरज कोच , राजनारायण कोच र सरिता हाँस्दाको शैक्षिक खर्चको जिम्मेवारी आफैंले बहन गरेका हुन् । ति बालबालिकाका अभिभावकले आर्थिक अवस्था कम्जोर भएकै कारण विद्यालयमा भर्ना गर्न नसकेको भन्ने जानकारी पाएपछि आफूले विद्यालय तहको पढाईमा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेर भर्ना गरिदिएको साँवाले बताए ।

सामुदायिक विद्यार्थीका लागि पाठ्यपुस्तक सरकारले उपलब्ध गराउने र शुल्क समेत नलाग्ने भएपनि अध्ययनका क्रममा चाहिने अन्य शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक समेतको अभाव महसुस गर्नु नपरोस भनेर सांसद साँवाले विद्यालय तहको पठनपाठन पूरा हुञ्जेल आवश्यक पर्ने सबै खर्च ब्यहोरेको बताए ।