काठमाडौं । सांसदहरूले नेपालमा क्रसर तथा खानी उद्योगलाई कानुनको दायरामा ल्याएर सञ्चालनमा ल्याउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य समितिको बैठकमा सांसदहरूले पर्यावरणलाई ख्यालमा राखी क्रसर र खानी उद्योग सञ्चालन गर्नुपर्ने बताएका हुन् । सांसदहरूले नदीजन्य निर्माण सामग्रीका प्रयोगका लागि सङ्घीय, प्रदेश वा स्थानीय तहलाई एकल अधिकार दिनुपर्ने धारणा राखे ।
बैठकमा बोलाइएका नेपाल क्रसर तथा साना उद्योग व्यवसायी सङ्घका प्रतिनिधिले सरकारले ल्याएको मापदण्डमै रहेर उद्योग सञ्चालन गर्ने बताए । खोलाबाट ५ सय मिटर पर मात्रै उद्योग सञ्चालन गर्ने मापदण्ड भने व्यावहारिक नभएको उनीहरूको भनाइ थियो ।
व्यवसायीका अनुसार देशभर करिब १२ सय क्रसर तथा खानी उद्योग छन् ।